आजको दिन तन्नेरीहरूको मन हरियो भएको छ, कलकलाउँदो बिरुवा जस्तो। आजका लागि योजना बनिसकेका छन्। कहाँ जाने? के गर्ने? कुन उपहार लिने? के उपहार दिने? आजको दिनमा मायाको बन्धन कि कसिन्छ, कि फुत्किन्छ। प्रेमको महिमा अपार छ। प्रेमको तातोमा राँक्किएको छ नेपाली तन्नेरीहरूको मन। जसका जोडी छन् ती खुशीमा छन्, जसका छैनन् ती खोजीमा छन्। सजना बरालको कलम प्रेम दिवसको लेखाजोखामा तन्किएको छ। के छ अद्भूत त्यस्तो यो प्रेम दिवसमा? ... प्रणय दिवसको रङमा सिंगो संसार रंगिएको छ। नेपाली शहरिया समाजलाई पनि प्रेम दिवसको चटारोले छोइसकेको छ। उपहार र डेटिङका लागि खर्च-बर्चको जोरजाम गर्नेदेखि घरपरिवारका आँखा छलेर मायालुसम्म पुग्ने चाँजोपाँजो मिलाउनुछ, टिनएजरहरूलाई। पार्टनर नहुने 'अकेला'हरू समेत साथीभाइको हुलमा थपिएर क्याफे, क्यान्टिन, रेस्टुरेन्ट वा फिल्म हलतिर बाटो तताउन तम्तयार हुन्छन्। प्रेम प्रस्ताव राख्ने र प्रस्ताव स्विकार्ने वा अस्विकार्नेको चक्कर प्रायः दिनभर चलिरहन्छ। आइतवार भृकुटी मण्डपस्थित इन्फोटेक मेला भर्न आएकी १७ वर्षीया गीता पोखरेलले यसपालि पहिलो पटक प्रेम दिवस मनाउन लागेको बताइन्। 'ब्वाईफ्रेन्डको घरमा गएर नाचगान गर्ने, तास खेल्ने आदि प्रोग्राम छ,' बडो उत्साहित मुद्रामा भेटिएकी उनी गफिइन्, 'साथीहरूलाई पनि बोलाएका छौँ। खुब इन्जोय गर्ने प्लान छ।' यसका लागि उनीहरूले छ हजार रुपैयाँजति बजेट छुट्याएका छन्। ब्वाईफ्रेन्ड जागिरे भएकाले आर्थिक भार उनैले बेहोर्ने गीताले बताइन्। 'मैले चाहिँ यही एउटा पेन ड्राइभ गिफ्ट दिने भएकी छु,' मेलामै किनेको उपहार देखाउँदै उनले भनिन्, 'यसमा एउटा ग्रिटिङ कार्ड थपेर दिनुपर्ला।' सञ्चार माध्यम र इन्टरनेटको व्यापकतासँगै साथीभाइको लहडले पनि युवा पुस्तामाझ प्रेम दिवसको उल्लास सालिन्दा बढ्दो छ। रेडियो, टेलिभिजनदेखि फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जालमा हप्तौँअघिदेखि पे्रम दिवसको चर्चा चल्छ। पत्रपत्रिका तीजमा सजिएका महिलाझैँ 'राताम्मे' बन्ने गर्छन्। भी-डे सेलब्रेट गर्न कलेजमा खाजा खान दिएको पैसा खुत्रुकेमा खसाल्नेदेखि सरसापटी माग्ने, आमाको पर्स वा बुवाको बगली छाम्नेसम्मका हर्कत गर्न पछि पर्दैनन् उनीहरू। 'त्यति नगरे पैसा उब्जिन्न क्यारे,' ह्वाइटफिल्ड क्याम्पसका विद्यार्थी वसन्त श्रेष्ठले भने, 'तर, हामी चाहिँ चोरी गर्दैनौँ है! आफ्नो त गर्लफ्रेन्ड गाँठवाली छे। पैसाको टेन्सनै छैन। टक्क १०-१५ रुपियाँको एउटा फूल बोकेर जाने हो। टन्न खाने हो, आउने हो।' भ्यालेन्टाइन्स डेको इतिहासबारे केटाकेटीहरू जानकार छैनन्। उनीहरू त बस् रमाइलोका लागि होमा हो मिलाउन तल्लीन छन्। यसै पनि ग्लोबलाइजेसनले सानो गाउँ बनाएको अहिलेको विश्वमा आफ्नो र पराईबीचको दूरी लोपोन्मुख अवस्थामा छ। त्यसमाथि, प्रणय दिवसजस्तो अवसर! 'भ्यालेन्टाइन्स डेलाई पूर्वेली वा पश्चिमेली भन्नुको अर्थ छैन,' कान्तिपुर कलेज अफ म्यानेजमेन्टमा पढ्ने पुनम श्रेष्ठले राय व्यक्त गरिन्, 'यो त युनिभर्सल चाड भैसक्यो। फेरि, माया भन्ने चिज यसको र उसको भन्ने नै हुँदैन नि।' भ्यालेन्टाइन्स डेको दिन कलेजका तीन जना केटाले पूजालाई पर्पाेज गर्ने भएका छन् रे। 'कलेजबाहिरका दुइटाले अस्ति नै देखि लाइन मारिरा' छन्। पर्पोज गर्नेजति सबैलाई 'एस' दिइन्छ,' उनले निष्पि्कक्री भनिन्। रमाइलो गर्न भनेपछि पस्केको भात पनि छोडरे कुद्ने अल्लारे उमेरका केटाकेटीलाई भ्यालेन्टाइन्स डे सेलिबे्रसनको गतिलो बहाना बनेको छ। यसका लागि गुलाब, कार्ड, बुके, सो-पिसदेखि चुम्मा र अंकमालसम्मका उपहार लेनदेन गर्ने प्रचलन फस्टाउँदो छ। शुक्रवारको फेसबुक वालमा टिकु चौधरीले प्रणय दिवसका लागि बनाएको योजनाबारे लेखेका छन्, 'फूलबारीबाट एउटा सुन्दर गुलाबको फूल टिपेर उनलाई दिनुपर्ला।' नयाँ बजारका विवेक मगर भने गर्लफ्रेन्ड नभएकाले साथीभाइसँग धुलिखेल घुम्न जाने तयारीमा छन्। 'केटीहरूलाई मन पर्ने भनेकै चकलेट र पर्फ्युम हो,' आशीर्वाद एकेडेमीको कक्षा १० मा पढ्ने प्रकाश गुरुङले भ्यालेन्टाइन गिफ्टबारे जानकारी प्रस्तुत गरे, 'लभ सेप (मुटुको आकार) का चकलेटहरू एक बट्टा किनेर दिएपछि गर्लफ्रेन्ड मख्खै!' मायाप्रेमलाई भौतिक सामग्रीसँग साट्न नचाहने युवायुवती पनि कम्ती भेटिएनन्। तीमध्येकी शुभलक्ष्मी प्रभाले माया गर्नेलाई माया नै उपहार दिनुपर्छ भन्ने मत जाहेर गरिन्। रुपेश गौतमले 'प्रियसीलाई गालामा च्वाप्प म्वाइँ खाएदिए पुगिहाल्छ नि। अरू के दिनुपर्यो?' भनी पोस्ट गरेका छन्। उनले झैँ चुम्बनलाई उपहार बनाउनेको पंक्तिमा सुनील श्रेष्ठ, वाइबी जिएम, राम कार्कीलगायत थिए। प्रायः युवायुवती भ्यालेन्टाइन्स डेको दिन प्रेमीले गरेका कुनै पनि प्रस्तावलाई नकार्नुहुन्न भन्ने मान्यता राख्छन्। 'यो दिन जति धेरै माया बाँड्न सक्यो, वर्षभरि उति नै धेरै माया पाइन्छ रे,' एनएस टेर्लसमा काम गर्ने १९ वर्षीया लुनिभा राजभण्डारीको बुझाइ छ। तर, मायाको खेती सपार्ने बहानामा सर्वस्व हरण भएको चाल नपाउनेहरू पनि हुन्छन्। कुनै बेला पानीपँधेरा, मेलापात, चौतारी, देउराली वा नजिकैको रानीवनलाई डेटिङ स्पट बनाउने प्रेमीहरूले आजभोलि होटल, क्याफे र रेस्टुरेन्टलाई गन्तव्य बनाउन थालेका छन्। 'भ्यालेन्टाइन्स डेको दिन पार्क र मन्दिरहरू बजार जस्तै बन्छन्,' बालाजुस्थित नर्थप्वाइन्ट क्याफेका सञ्चालक बालकृष्ण डंगोलले भने, 'त्यहाँ मान्छे धेरै हुने भएकाले केटाकेटीहरू क्याफेतिरै जान रुचाउँछन्।' यही अवसरमा फुड कोर्टहरू पनि छुटका अफरहरू फिँजाएर मौकामा चौका हान्न व्यस्त हुन्छन्। 'काठमाडौँमा कपल्सका लागि राम्रो पार्क नै छैन,' मेघना लामाले दुखेसो पोखिन्, 'भएका पार्कमा पनि जस्तो पायो त्यस्तै मान्छे आउँछन्।' भी-डेको दिन त झन् नानाभाँती गर्नेको छेलेखेलो हुने भएकाले सभ्य पाराले माया साट्नेलाई अप्ठ्यारो पर्ने उनले बताइन्। 'बरु अलि बढी पैसा खर्च गरेरै भए पनि राम्रो खालको क्याफेतिरै डेटिङ जानु राम्रो हुन्छ,' उनले सुझाव दिइन्। राजधानीका सबै युवा भ्यालेन्टाइन्स डेका पारखी भइसकेका छैनन्। यसलाई परदेशीको चाड मान्नेहरू पनि उत्तिकै छन्। उनीहरूका लागि यो दिवस आडम्बरको प्रतीक हो। 'कहिले रोज डे रे, कहिले फ्रेन्डसिप डे, अब फेरि भ्यालेन्टाइन्स डे रे!' शिवपुरी कलेजका हरि खड्काले व्यंग्य गरे, 'यी चाडहरू त बच्चाबच्चीले भाँडाकुटी खेल्दा मनाउन मिल्ने खालका छन्।' उनलाई झैँ ठमेलको 'बिजी साइबर क्याफे'का सञ्चालक सुबोध भट्टलाई पनि भ्यालेन्टाइन्स डेप्रति कुनै चासो छैन। भन्छन्, 'मेरा लागि त यो चाड आउनु भनेको कागलाई बेल पाक्नु सरह हो। प्रणय दिवसलाई यादगार बनाउन युवायुवतीहरू भरमग्दुर प्रयास गर्छन्। यस दिन प्रेमीलाई उपहार दिनदेखि साथीभाइसँग रमाइलो गर्नलाई समेत उनीहरूले बजेट निर्धारण गर्नुपर्छ। त्यसका लागि अधिकांश केटाकेटाले महिनौँअघिदेखि रकम संकलन गर्ने गर्छन्। नेपालमा प्रणय दिवस सर्वमान्य चाड भइसकेको छैन। त्यसैले टिनएजका केटाकेटीलाई प्रेम दिवस मनाउनकै लागि भनेर पैसा दिने अभिभावक छैनन्। गर्लफ्रेन्डसँग ह्वाइट गुम्बा घुम्न जाने प्लान बनाएका बालाजुका राजु पोखरेलले भी-डेका लागि दुई हजार रुपैँया ठिक्क पारेका छन्। 'मैले त साथीसँग ऋण लिएको हुँ,' उनले भने, 'उनीसँग पनि अलिअलि पैसा हुन्छ होला। दुवैजनाको जोडजाड गरेपछि त पुगिहाल्छ नि।' उपहार, गाडी भाडा, खाजा-पानी आदि गरेर यस दिन कम्तीमा पनि तीन हजार रुपैँया खर्च हुने मेघना लामाले बताइन्। 'मैले दुई महिनाअघिदेखि नै कलेक्सन गरेकाले अहिले कोहीसँग माग्नुपरेन,' उनले भनिन्। गर्लफ्रेन्डलाई चुम्बन दिएर भी-डे टार्न लागेका सुनील श्रेष्ठले चाहिँ त्यसका लागि बजेट छुट्याउनु नपर्ने बताए। ऋषिकेश आचार्यले घुमघामलाई भनेर दुई हजार रुपैँया पर्सको भित्री कुनामा लुकाएका छन्। स्कुलकी एउटी केटीलाई प्रपोज हान्न लागेका प्रकाश श्रेष्ठले उनका लागि चकलेट र ग्रिटिङ कार्ड खरिद गरिसकेका छन्। 'छ सय रुपैयाँ सकियो नि हौ,' उनले हिसाब लगाए, 'पाँच सय रुपैँयाको चकलेट, सय रुपैयाँको कार्ड किन्देको छु। रिजेक्ट गर्दिइन् भने चकलेट-सकलेट आफैँ खाइन्छ।' भ्यालेन्टाइन्स डेका दिन युवायुवती ठ्याक्कै यति-उति खर्च गर्छन् भन्ने छैन। दशदेखि हजारौँ रुपियाँसम्मका उपहार दिने पनि हुन्छन्। सामान्यतयाः टिनएजरहरूले पाँच सयदेखि पाँच हजार रुपियाँसम्म बजेट छुट्याउने गरेको पाइन्छ। पहिलोपटक प्रपोज गर्नेहरू इन्जिनियरिङ पढ्दै गरेका कुपन्डोलका विनय शर्माले कक्षा ११ मा पढ्दा भ्यालेन्टाइन्स डेकै दिन क्लासकी एक युवतीलाई प्रपोज हानेका थिए। तर, उनको प्रस्ताव ठाडै अस्वीकृत भयो। ‘साथीहरूको लहैलहैमा लागेर प्रपोज हानियो,' विनय सम्झन्छन्, 'तर, उनले अर्कै केटासँग टु साइड छ भन्दै मलाई बाल दिइनन्। तर, त्यसको एक महिनापछि उनी नै मलाई प्रपोज गर्न आइपुगिन्। मैले पनि साउँको ब्याज गर्ने मौका यही हो ठानेर 'म त प्याक भैसकेँ' भन्दिएँ।' यसरी भ्यालेन्टाइन्स डेको दिन प्रपोज हानाहानको लहर गजबले चल्ने गर्छ युवायवतीमाझ। अरू दिनमा प्रपोज गर्दा उत्तरको भर नहुने तर यस दिन गरेमा प्रायः पोजिटिभ उत्तर आउने भएकाले पनि भ्यालेन्टाइन्स डे कुर्नेहरू धेरै हुन्छन्। केही समयअघिसम्म प्रेम प्रस्ताव राख्ने मामिलामा केटा नै अगाडि हुन्थे। तर, आजभोलि युवतीहरूले पनि मनको कुरा पोख्न धक मान्न छाडेका छन्। उनीहरूले प्रायः फोन, एसएमएस र च्याटिङमार्फत प्रेम प्रस्ताव राख्ने गर्छन्। 'फेस टू फेस भन्न त लाजै हुन्छ नि,' प्रिया थापाले भनिन्, 'मैले त पोहोर साल फेसबुकमा अनलाइन च्याट गरेर भनेकी थिएँ।' धादिङका ईश्वर बूढाले यसपालि पहिलोपटक प्रपोज हान्न लागेको बताए। भ्यालेन्टाइन्स डेको दिन अफिसमा छुट्टी मिलाएका छन् उनले। ‘अहिलेसम्म कसैलाई प्रपोज हानेको छैन्,' उनले भने, 'साह्रै डर पो लागेको छ त। तर, जसरी भए नि उनलाई यसपालि मनको कुरा भनेरै छाड्छु।' फेसबुकमा र्यान्डम एड गरेर फेला परेकी युवतीसँग उनको दुई वर्षयता गोइङ अराउन्ड रिलेसन छ। ‘पोहोर ज्यान गए मुख खोल्न सकिएन,' उनले थपे, 'यसपालिको भ्यालेन्टाइन्स डे चाहिँ मेरा लागि शुभ होस्!' . nagariknews
|