यो खासमा एउटा 'गाईका सन्तानहरूको देश' को कथा हो, किनभने यो बाछाबाछीको देशः इटालिया (इटली) का मानिसहरूको अलिखित इतिहास हो। यस अर्थमा यो इटालिया (इटली) को श्रम, संघर्ष र प्रेमको गाथा पनि हो, जुन इतिहासमा लिपिबद्ध छैन। इटालीमा रहेको अपेनाइन प्रायद्वीपमा टाइबर नदीको मुहानमा थियो, रोम नामक सानो नगर। आठौँ शताब्दी इसापूर्व बनाइएको मानिने रोममा बस्दथे, ल्याटिन नामक कबिलाजन। उनीहरूले बोल्ने भाषा ल्याटिन नै पछि युरोपको भाषा बनेको थियो। यो कथा ल्याटिन भाषी रोमबासी शासकहरूले गणतन्त्र (रिपब्लिक) बाट साम्राज्य (एम्पायर) निर्माणको क्रममा थालिएको बर्बरताको एउटा नमुना हो। विश्वमा पुरानो खालको गणतन्त्र रहेको रोममा राजतन्त्र स्थापनाको क्रममा साम्राज्य स्थापना गरिएको थियो। ती शासकले साम्राज्यलाई बलियो बनाउन र युरोपदेखि अफ्रिकासम्म फैलाउन युद्धवादी नीतिको अख्तियार गर्दै आएका थिए। जुलियस सिजरको रोम साम्राज्यबारे धेरैले सुनेका हुन सक्छन्, तर उनीपछिका सम्राटहरूबारे कमै थाहा भएको हुन सक्छ। उनको हत्यापछि सम्राट भएका अक्टोभियन र अगस्टसपछि टाइबेरियस र कालीगुलाजस्ता सम्राटको नाम आउँछ। हो, त्यही सम्राट कालीगुला, जसले आफ्नो घोडालाई पनि मन्त्री बनाएका थिए। उनीपछि सम्राट बनेका क्लाउडियसकै नाममा रोममा अर्का सम्राट भएका थिए, क्लाउडियस द्वितीय। उनको मनमा पनि साम्राज्य विस्तारको भोक र महान् सम्राट हुने महत्वाकांक्षा चरम रूपमा थियो। उनको पनि सपना थियो, जुलियस सिजरजस्तै महान् शासक हुने र रोममा ३०-४० मिटर अग्ला भवन बनाएर भित्तेचित्र कोर्न लगाउने। त्यस्तो भित्तेचित्र, जसमा उनको युद्ध अभियान थालिएको, अन्य देशका सिपाहीलाई युद्धबन्दी बनाइएको र शत्रुका बस्तीहरूको विनाश गरिएका चित्र अंकित होऊन्। उनलाई मतलब थिएन, हजारौँ दासहरू कसरी बाँचिरहेका छन्। उनलाई त रोमबासी मनोरञ्जनबिना र भोकले विद्रोही नबनून् भन्ने मात्रै चिन्ता थियो। त्यसैले रोटी, पैसा र मनोरञ्जन दिएर जनतालाई भुलाउनमा कुनै कसर बाँकी नराख्ने उनको आदेश थियो। आमरूपमा दास र गरिब जनता (कोलोनस) को शोषण र अन्य देशको लुटबाट प्राप्त रकमबाट सडक, गल्ली र मैदानमा रात गुजार्ने मानिसहरूलाई अन्न बाँड्ने व्यवस्था गरिएको थियो। भनिन्छ, त्यस बेला साहुमहाजनहरूमात्रै होइनन्, गरिबहरू पनि काम गर्ने र युद्ध गर्ने त दास र कोलोनसहरूको जिम्मा हो भनी सोच्ने गर्थे। यही सोचाइ र सैन्य शक्तिका आधारमा राज गरिरहेका क्लाउडियस द्वितीयले युद्ध अभियानलाई कहिल्यै कमजोर पारेनन्। त्यस युद्ध अभियानका लागि सबैभन्दा ठूलो खतरा थियो, दास र शिल्पीहरूको आन्तरिक विद्रोह अनि उपनिवेशभित्र अन्य देशबासीको विद्रोह। सबैभन्दा ठूलो र जबर्जस्त विद्रोह भयो, तेस्रो शताब्दीको मध्यतिर। गाल प्रदेशमा भएको विद्रोहले रोमलाई पनि हल्लायो। आफूलाई बगौड अर्थात योद्धा भन्ने ती विद्रोहीले दासस्वामीहरूलाई लुट्न थालेपछि क्लाउडियस द्वितीय निकै रिसाए। त्यस्तै, उत्तरी अफ्रिकामा मात्रै होइन, रोममा पनि शिल्पीहरू र दासहरूले विद्रोह गर्न थालेपछि उनलाई आफ्नो विशाल साम्राज्यका महान् सम्राट बन्ने सपना चकनाचुर होला कि भन्ने डर लाग्न थाल्यो। यही त्रस्त मनस्थितिको उपज थियो, युवाहरूबाट सिपाहीहरूको व्यापक भर्ती र उनीहरूको अमानवीयकरणको शृंखला। प्रत्येक दिनजसो जारी राखिएको रक्तपातपूर्ण लडाइँका लागि अस्त्रमात्रै होइन, मानव-चारो पनि जरुरत थियो। रोमबासीले चाहे पनि नचाहे पनि उनले जारी राखेको युद्ध अभियानका लागि र जनविद्रोहहरूको दमनका लागि एकसेएक युवाहरूलाई युद्धको आगोमा होम्नु अनिवार्य थियो। तर, त्यसका लागि सिपाही हुन चाहने युवाहरूको सख्त अभाव उनले अनुभूत गरिसकेका थिए। उनलाई थाहा थियो, युवाहरू सैनिक हुन कममात्रै तयार छन्, आफ्ना छोराहरूलाई सिपाही बनाउन रोमबासीहरूमा अलिक आनाकानी बढ्दो छ। उनको विश्लेषणमा यसमा परिवारसँग, श्रीमतीहरूसँग र प्रेमिकाहरूसँगको युवाहरूको बलियो प्रेम-सम्बन्धले बाधा तेर्स्याइरहेको छ। युद्ध अभियानका लागि प्रेम-सम्बन्ध खतरनाक महसुस गरेरै उनले आज्ञा जारी गरे : अबदेखि रोममा विवाह र स्वयम्बरका काममा रोक लगाइएको छ! उनले कतिसम्म गरे भने सेनाका रूपमा कार्यरत सिपाहीहरूलाई समेत कहिल्यै विदा नदिने निर्णय गरे। यस्ता आज्ञा र निर्णयले गर्दा युवाहरूमा मात्रै होइन, उनीहरूका परिवारजनमा पनि हाहाकार मच्चियो। प्रेमजस्तो सम्बन्ध, विवाह र परिवारजस्ता संरचनामाथि ठूलो प्रहार भएपछि प्रतिक्रिया हुनु पनि स्वाभाविकै थियो। तर, प्रतिक्रिया भने अनौठो खालको भयो। भ्यालेन्टाइनलाई लाग्यो, सम्राटका आदेश र निर्णय अन्यायपूर्ण छ। उनले त्यस्ता आदेश र निर्णयको अवज्ञा गर्ने निश्चय गरे। अनि थाले, गोप्यरूपमा युवायुवतीबीच विवाह गराउने अभियान। हुन त उनको विरोध शान्तिपूर्ण थियो, प्रतीकात्मक थियो अनि प्रेम र विवाहको पक्षमा थियो। तर, भइदियो के भने त्यसले सम्राटको, सम्राटको आदेशको, सम्राटले चलाउने राज्य र देशको अनि युद्धको विरोध गरेको ठहरियो। भ्यालेन्टाइनको प्रेम र विवाहको अभियानबारे थाहा पाएपछि सम्राट क्लाउडियस द्वितीयको क्रोधको पारो चढ्यो। र, मुखमै संविधान भएका सम्राटले भ्यालेन्टाइनलाई मृत्युदण्डको फैसला सुनाए। भ्यालेन्टाइनलाई गिरफ्तार गर्दै जेलमा अनेक यातना दिइयो। जेलमा हुँदा उनले जेलरकी छोरी तथा आफ्ना मित्रलाई 'फ्रम योर भ्यालेन्टाइन' भन्दै विदाइपत्र पनि लेख्न भ्याए। अन्ततः मरणासन्न हुनेगरी पिटिएका भ्यालेन्टाइनको टाउको काटियो, रोमजस्तो पवित्र मानिने शहरमा। लडाइँमा चारो हुनुपर्ने युवाहरूलाई प्रेम र विवाहको बाटोमा लान खोज्ने भ्यालेन्टाइनलाई १४ फेब्रुअरी २७० मा मृत्युदण्ड दिइएको थियो। तर, प्रेमविरोधी रोम साम्राज्य पनि लामो समयसम्म टिकिरहन सकेन, ढल्न बाध्य भयो। भनिन्छ, मृत्युदण्डपपछि उनलाई सन्तका रूपमा सम्मान गरियो र पछि गएर भ्यालेन्टाइन्स डे नै मनाउन थालियो। भनिन्छ, यो कुनै काल्पनिक कथा हो, तर वास्तविक पनि हुन सक्छ, खोज हुनु जरुरी छ। जेहोस्, जनमानसमा यस्ता कथाजस्ता यथार्थ र यथार्थजस्ता कथाको अभाव छैन। भ्यालेन्टाइन्स डेसँग जोडिएको कथा भने प्रेरक छ, प्रतिरोधलाई मलजल गर्ने खालको छ। यस कथामा भ्यालेन्टाइनको शहादतमा जीवनप्रतिकै आत्मिक प्रेम देखिन्छ। अर्काको जमिन र श्रमलगायत स्रोतसाधन लुट्न रोमन सम्राटले थालेको युद्धको आगोमा होम्ने अभियानको विरोध गर्नु निकै महŒवपूर्ण पक्ष हो। प्रेमको पक्षमा र युद्धको विपक्षमा सम्राटको आदेशको विरोध गर्नुमा सत्तासामु नझुक्ने साहस प्रकट भएको छ। वास्तवमा जीवनप्रतिको प्रेमका लागि शासकद्वारा मारिएका थिए भ्यालेन्टाइन। उनको शहादतलाई आज युवक-युवतीबीच प्रेम प्रस्ताव राख्ने र उपहार साटासाट गर्ने दिवसको अर्थमा मात्रै सीमित गरिएको छ।
|