रसुवा, पुस ५ - लाङटाङ हिमालको काखमा आज बिहान १० बजेबाट चर्को धुवाँ
निस्कन थालेपछि यहाँका स्थानीय जनताले त्यसलाई ज्वालामुखी विष्फोट हुन
लागेको भन्ठाने र यो घटनाका कारण यहाँ दिनभर सनसनी फैलियो।
जनमानसमा कौतुहलता बढेपछि जिल्ला प्रशासन कार्यालय रसुवाको अनुरोधमा नेपाली
सेनाको हेलिकप्टरमार्फत निरीक्षण गराउँदा जङ्गलमा डढेलो लागेको देखिएको
सहायक प्रमुख जिल्ला अधिकारी गौतम रिमालले जानकारी दिए।
ज्वालामुखी विष्फोट हुने आशङ्काले यस क्षेत्रका बासिन्दाका साथै
कर्मचारीमासमेत त्रास फैलिएको देखिन्थ्यो। उनीहरूको नजर दिनभर लाङ्टाङ
हिमालतर्फ नै केन्द्रित रहेको उनले बताए।
जिल्लाका प्रहरी प्रमुख
सुदीप गिरीले के कारण डढेलो लाग्यो भन्ने सम्बन्धमा वास्तविक पत्ता लगाउन
प्रहरी परिचालन गरिएको बताए। उनका अनुसार उक्त ठाउँ ब्रिदीम गाविसको विकट
क्षेत्र रहेकाले परिचालित प्रहरी भोलि बिहानसम्म त्यहाँ पुग्नेछ। सो स्थान
सदरमुकाम धुन्चेबाट तीन दिनको पैदल दुरीमा छ।
ज्वालामुखी विष्फोटनको हल्ला निराधार भएकाले यस्ता हल्लाका पछाडि नलाग्न सहायक प्रजिअ रिमालले सबैमा आग्रह गरेका छन्। रासस