रेडबुल,
म्याट्रिक्स जस्ता अनेक नामका इनर्जी ड्रिंक्स बजारमा छन् । शक्तिबर्धक
पेय भनिने यी स्वादिष्ट पेय पछिल्लो समयमा युवाहरुमाझ निकै लोकप्रिय पनि
बनिरहेका छन् । पेडियाट्रिक्स नामक जर्नलमा छापिएको एक अध्ययनले समेत सन्
२००३ मा १६ प्रतिशत किशोरकिशोरीले नियमित रुपमा इनर्जी ड्रिंक्स पिउने
गरेकोमा यो संख्या सन् २००८ सम्म आइपुग्दा ३५ प्रतिशतले बढेको देखाएको थियो
। त्यस यता इनर्जी ड्रिंक्स पिउनेको संख्यामा अझै नाटकीय वृद्धि भएको दाबी
विज्ञहरुको छ । इनर्जी ड्रिंक्सले पूराउने लाभ तथा हानीका विषयमा
समयसमयमा विभिन्न प्रकारका समाचार तथा हल्लाहरु सार्वजनिक नभएका होइनन् ।
तर, पछिल्लो समयमा अमेरिकामा यस्ता पेय पदार्थको अत्यधिक सेवनका कारण
मानिसहरु विरामी हुने र ज्यानै समेत गुमाउने दर बढेपछि यस्ता ड्रिंक्स
स्वास्थ्यका लागि कत्तिको हानिकारक छन् भन्ने विषयको खोजी निकै चासोको विषय
बन्यो । आखिर इनर्जी ड्रिंक्समा के त्यस्ता हानिकारक रसायनहरु हुन्छन् ?
जसले मानव स्वास्थ्यलाई हानी गर्छन् ? शोधकर्ताहरुले इनर्जी ड्रिंक्समा
हुने यस्ता हानिकारक तत्वहरुको सूचि तयार पारेका छन्, त्यसमा:
क्याफिन:
यो
इनर्जी ड्रिंक्समा हुने सबैभन्दा प्राथमिक रसायन हो । यो तत्वको मात्रा
इनर्जी ड्रिंक्सको प्रकार हेरी फरक फरक पाइन्छ । तरपनि सबैखाले इनर्जी
ड्रिंक्समा यसको मात्रा मानव सरीरका लागि हानिकारक तहमै भएको पाइन्छ ।
क्याफिन नामक रसायन सरीरमा बढि हुँदा त्यसले ब्लड प्रेसर बढाउने, गर्भवती
महिलामा समय भन्दा छिटो बच्चा जन्मिने तथा कहिलेकाहीँ व्यक्तिको तत्कालै
मृत्यु हुन जस्ता समस्या निम्ताउँछ ।
गुआरना: गुआरनिन
नामक रसायन पाइने यो एक दक्षिण अमेरिकी वनस्पती हो । गुआरनिन पनि क्याफिन
रसायनको एक प्रकार नै हो । एक ग्राम गुआरना वनस्पतीमा ४० मिलिग्राम क्याफिन
पाइन्छ । इनर्जी ड्रिंक्समा यो वनस्पतीमा पाइने गुआरनिन रसायन समेत
मिसाइएको हुन्छ । यसो हुँदा इनर्जी डिं«क्समा क्याफिनको मात्रा अझै बढ्न गई
झनै हानिकारक हुन्छ ।
चिनी:
इनर्जी ड्रिंक्समा चिनीको मात्रा निकै उच्च हुन्छ । प्रत्येक ८ औँश इनर्जी
ड्रिंक्समा २१ देखि ३४ ग्रामसम्म चिनी पाइन्छ । यसमा पाइने चिनी ग्लुकोज,
सुक्रोज तथा फ्रुक्टोज लगायतका रुपमा पाइन्छ । तिनवटा इनर्जी ड्रिंक्सका
क्यान पिउनेले १८० मिलिग्राम चिनी खाएको हुन्छ जुन मान्छेको दैनिक सन्तुलित
मात्रा भन्दा ६ गुणा बढि हो । त्यसैले इनर्जी ड्रिंक्समा चिनीको मात्रा
उच्च हुने भएकाले यसको सेवनले मोटोपनाको समस्या, दाँतको समस्या तथा
चिनीजन्य अन्य समस्याहरु समेत देखा पर्छन् ।
टाउरिन:
इनर्जी ड्रिंक्समा पाइने अर्को रसायन हो टाउरिन । यो निकै महत्वपूर्ण
एमिनो एसिड हो जसले मस्तिष्कको विकाश तथा सरीरमा लवण र पानीको सन्तुलनमा
सहयोग पूराउँछ । यसले व्यक्तिको खेलकुद क्षमता पनि बढाउँछ । तर इनर्जी
ड्रिंक्समा यो तत्वको मात्रा आवश्यकता भन्दा बढि हुन्छ । यो तत्व आवश्यकता
भन्दा बढि हुँदा खास के असर पर्छ भन्ने कुरा अहिलेसम्म पत्ता नलागेको भएपनि
सरीरमा आवश्यकता भन्दा बढि प्रोटिनजन्य पदार्थ थुप्रिँदा त्यसले अवश्यपनि
हानी पूराउँछ नै ।
गिन्सेंग:
यो तत्वले सरीरमा व्यक्तिको खेलकुद क्षमता बढाउने, रोग प्रतिरोधी क्षमताको
विकाशमा सहयोग पूराउने तथा व्यक्तिको मानसिक स्वास्थ्यमा पनि सहयोग गर्ने
बताइन्छ । तरपनि यसको वैज्ञानिक पुष्टि विश्वसनीय रुपमा हुन सकेको छैन ।
उल्टै यो तत्वका विभिन्न खाले नकारात्मक असर पनि छन् । यसको मात्रा बढि भयो
भने टाउको दुख्ने, उच्च तनाव तथा अनिद्रा जस्ता असरहरु देखिन्छन् । इनर्जी
ड्रिंक्समा पाइने यो तत्व सर्जरी गराइरहेका वा केही निश्चित औषधिको सेवन
गरिरहेका व्यक्तिहरुको लागि निकै हानिकारक मानिएको छ ।
भिटामिन बी लगायतका अन्य तत्व
भिटामिन
बी सरीरका लागि निकै फाइदाजनक तथा अनिवार्य भिटामिन हो । यसले मानिसलाई
मुटुसम्बन्धि रोग तथा क्यान्सर लगायतबाट बचाउन सहयोग गर्छ । तर इनर्जी
डिं«क्सहरुमा भिटामिन बी को मात्रा निकै कम मात्रामा वा नाम मात्रैको हुन्छ
। त्यसैले इनर्जी ड्रिंक्सहरुले आफुमा भिटामिन बी पाइने भन्दै गर्ने
प्रचार निरर्थक रहेको र इनर्जी डिं«क्सहरुमा पाइने निकै न्यून मात्राको
भिटामिन बीले सरीरमा कुनै प्रभाव पार्न अपर्याप्त हुने विज्ञहरु बताउँछन् ।
इनर्जी ड्रिंक्सहरुमा अरु विभिन्न नामका रसायन पनि हुन्छन् जसको कुनै
फाइदा थाहा छैन र सम्भावित जोखिमको बारेमा पनि अध्ययन भएको छैन ।
विज्ञहरुका
अनुसार कार्निटिन, योहिम्ब तथा बिटर अरेन्ज जस्ता तत्वहरुले मानव
स्वास्थ्यमा पार्ने असरको बारेमा अनुसन्धान आवश्यक छ । इनर्जी ड्रिंक्सको
नियमित सेवनले मानव स्वास्थ्यमा सकारात्मक भन्दा नकारात्मक असर बढि पूराउने
निष्कर्ष विज्ञहरुले निकालेपनि यसमा अझै वैज्ञानिक र गहन शोध आवश्यक रहेको
बताउँछन् । त्यसैले आफ्ना किशोरकिशोरी सन्तानको इनर्जी ड्रिंक्स बढि पिउने
बानी नियन्त्रण गर्न अभिभावक चनाखो हुनुपर्ने सुझाव उनीहरुको छ । इनर्जी
ड्रिंक्स प्रचार गरिएजस्तो शक्तिबर्धक पेय होइनन्, उल्टै यिनीहरुमा
दीर्घकालमा सरीरको शक्ति वा स्वास्थ्य क्षय गर्छन् । विज्ञहरुका अनुसार
इनर्जी ड्रिंक्समा रक्सी मिसाएर खानु अझै हानिकारक हो ।