चिसो
बढेसँगै रुघाखोकीले बढि सताउन थाल्छ । यद्यपि गर्मी महिनामा पनि रुघाखोकी
नलाग्ने होइन । तथापि जाडो याममा रुघाखोकी प्रकोपकै रुपमा देखापर्छ । आखिर
जाडोमा रुघाले किन बढि सताउँछ ? भन्ने कुराको उत्तर पत्ता लगाउन
शोधकर्ताहरुले एक अनुसन्धानबाट केही तथ्य पत्ता लगाएका छन् ।
शोधकर्ताहरुका अनुसार जाडो याममा रुघाखोकीको प्रकोप बढि देखिनुका विभिन्न
कारण हुन्छन् । त्यसमध्ये एक कारण यस मौसममा रुघाको भाइरसले मानिसको रोग
प्रतिरोधी क्षमता कम भएको फाइदा उठाउँछ । अर्कोतिर जाडोमा मानिसहरु जाडोकै
कारण एक अर्कामा बढि नजिकिन्छन्, त्यसैले यसको प्रत्यक्ष प्रभाव भाइरसको
संक्रमणमा पर्छ, अर्थात् रुघाको भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै
सर्नसक्छ । जाडो याममा तापक्रममा भएको गिराबट र सुख्खापनले भाइरसको उच्च
फैलावट वा वृद्धिमा समेत सहयोग गर्छ । शोधकर्ताहरुका अनुसार मौसममा आउने
उतार चढावका बेला मानिसको रोग प्रतिरोधी क्षमता कमजोर भएको हुन्छ, जसको
प्रत्यक्ष फाइदा भाइरसले उठाउँछ र मानिसलाई बढि भन्दा बढि संक्रमित बनाउँछ ।
ठन्डी मौसममा दिन छोटो हुनुका साथै सूर्यबाट प्राप्त हुने उर्जा समेत कम
प्राप्त हुन्छ । जसका कारण मानिसले पर्याप्त भिडामिन डी पाउन सक्दैन । रोग
प्रतिरोधी क्षमता बढाउन आवश्यक पर्ने भिडामिन डी को कमी हुन पुग्दा रुघाका
भाइरसको आक्रमण बढ्छ ।