Main » 2013»March»8 » शरीरका ६ वटा अंगले लेख्ने अद्भूत कला
3.01 PM
शरीरका ६ वटा अंगले लेख्ने अद्भूत कला
एक जना शिक्षित व्यक्तिले कलम पायो भने हातले लेख्नु सामान्य हो तर दुवै
हात, कुइना, खुट्टा र मुख गरी शरीरको ६ वटा अंगले समान गतिमा सहजतापूर्वक
लेख्न सक्नु पत्याउन सक्ने विषय नहुनसक्छ। बैतडी जिल्लाका २५ वर्षीय
युवाले यस्तै अपत्यारिलो क्षमता प्रदर्शन गरेर गिनिज बुक अफ रेकर्डमा
आफ्नो नाम लेख्ने तयारी गरेका छन्।
काठमाडौंमा बसेर समाजशास्त्रमा एमबीए अध्यनरत मनोज चन्दले शरीरका ६ वटा
अंगले सरसर्ती लेखेर देखाउँदा गएको साता नेपाल पत्रकार महासंघ मोरङको
सभाकक्षमा भेला भएका सञ्चारकर्मीहरू छक्क परेका थिए। चन्द दाहिने हातले जुन
गतिका साथ जुन शब्द लेख्न सक्छन् त्यही गतिमा उल्टो पारेर अर्थात् ऐनामा
हेर्दा सुल्टो देखिने गरी पनि लेख्न सक्छन्। त्यतिमात्र होइन उनले देब्रे
हातले पनि सोही प्रक्रियाबाट लेखेर सबैलाई चकित बनाइदिए। त्योभन्दा पनि
उनले एकै पटक दुवै हातले समान समयमा वाक्यहरू सुल्टो र उल्टोबाट लेखेपछि
भने सबै आश्र्यचकित भए।
कलमको मद्दतले हरेक शब्दहरू त्यसरी नै लेख्न सक्षम मनोज आफ्नो प्रतिभा
लिएर पूर्वी जिल्लाको भ्रमण गर्दै विराटनगर पुगेका हुन्। उनले अन्यत्र
जस्तै एकसातासम्म विराटनगरका विभिन्न शिक्षण संस्थाहरूमा आफ्नो क्षमताको
प्रदर्शन गर्नेछन्।
मनोजले ६ कक्षामा अध्ययन गर्दादेखि नै विभिन्न अंगहरूले लेख्ने अभ्यास
थालेका थिए। उनले भने 'निरन्तरको अभ्यासले हरेक काम सम्भव बनाउन सकिन्छ।
त्यही अभ्यासबाट म दुवै हात, दुवै कुहिना, मुख र खुट्टाले समान रूपमा लेख्न
सक्ने भएको हुँ।' मनोजले एउटा हातमा ३ वटा कलम राखेर एकैचोटि फरक लाइनमा
वाक्य लेखेर देखाएका थिए। उनले शरीरका विभिन्न अङ्गले उल्टो पाल्टो सबै
प्रकारका शब्दहरू लेखेर आफूले विश्व किर्तिमान कायम गर्न खोजेको र छिट्टै
गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ता हुने दाबी गरे। पश्चिम
नेपालका विभिन्न जिल्लामा आफनो प्रतिभा देखाएर पूर्व आएका मनोजले आफ्नो
प्रतिभा योभन्दा अघि सुनसरीको धरानमा देखाएका थिए ।
आफ्नो कला देखेर 'ब्वाइफ्रेन्ड' बनाउने चाहने पनि निकै भेटेका रहेछन्
उनले। मनोज भन्छन्- अहिले मेरा लागि आफ्नो उद्देश्य नै मुख्य कुरा हो।
गर्लफ्रेन्डको चक्करमा त्यसलाई ओझलमा पर्न चाहन्न। मनोजका अनुसार अहिले उनी
दुवै हातले एकै समयमा फरक-फरक शब्द लेख्ने प्रयासमा छन्।'